सेयर बजारको संवेदनशीलताप्रति अत्यन्तै सजग छौं : गभर्नर |
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंक पुँजी बजारको नियामक बन्न नचाहेको बताएका छन् । पुँजी बजारको नियामक त्यही क्षेत्रको (धितोपत्र बोर्डं) नै रहेको र उसकै सक्रिय भूमिका हुनुपर्ने उनले बताए । केन्द्रीय बैंकले सेयर बजारको नियामक बनेर त्यहाँ हस्तक्षेप गर्न नखोजेको पनि गभर्नरले स्पष्ट पारे । आफूहरुले सेयर बजारको संवेदनशीलतालाई राम्रोसँग बुझेको पनि गभर्नर अधिकारीले बताए । यसअघि नै बजार पुँजीकरण १८ खर्बबाट ४० खर्ब हाराहारीमा पुगिसकेको थियो ।
त्यस्तो बेलामा समेत हामीले ७०% सम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था चलाएनौं । सेयर बजारको संवेदनशीलता बुझेरै आफूहरुले सेयर धितो राखेर कर्जा लिन सक्ने सीमामा नचलाएको उनले बताए । सेयर धितो कर्जाको सीमा ७०% बाट ६५% मा झार्न खोजिए पनि त्यसो नगरेको तर्फ गभर्नरले संकेत गरेका हुन् ।
यसलाई नचलाउनुको कारण सेयर बजारको संवेदनशीलता बुझेरै हो, उनले भने । सेयर बजार बिग्रियोस् भन्ने पक्षमा आफूहरु नरहेको समेत गभर्नर अधिकारीले स्पष्ट पारे । अहिले ४–५ जनामात्रले १ अर्बभन्दा बढी सेयर धितो कर्जा लिएका छन् । यसलाई खुलै छोडिराख्दा यो समस्या झन्ै बढेर जान्छ ।
पुँजी एकातिरमात्र केन्द्रित नहोस्, साना व्यवसाय, कृषि, स्टार्टअप गर्नेहरुले पनि सजिलै कर्जा पाउन सकून् भनेरै केन्द्रीय बैंकले सेयर धितो कर्जामा ४–१२ करोडको क्याप लगाइदिएको गभर्नर अधिकारीको भनाई छ । केन्द्रीय बैंकको मुख्य चासो बैंकिङ सिस्टमभित्र भएको रिसोर्सेस एकै ठाउँमा मात्र केन्द्रित नहोस् भन्ने मात्र हो । हामीले ४–१२ को सीमा ल्याउँदा सेयर बजार बिग्रियोस भन्ने कत्ति पनि गलत धारणा नरहेको उनले बताए ।
हामीले कहीँ, कतै, मनको कुनै कुनामा पनि सेयर बजारप्रति नकाारात्मक धारणा राखेर ४–१२ को सीमा ल्याएको होइन, उनले स्पष्टीकरण दिए । अब साना लगानीकर्ताहरुले पनि सजिलै कर्जा पाउन सक्ने खालको व्यवस्था गर्न हामीले अध्ययन गरिरहेका छौं । हाम्रो अर्थतन्त्र त्यसै पनि अनौठो खालको छ । यसमा थप जटिलता नआओस् भनेर मात्र ४–१२ को क्याप लगाइएको हो, गभर्नरले भने ।
नेपाल अािर्थक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन् । विशेषगरी पछिल्ला दिनहरुमा केन्द्रीय बैंकले पुँजी बजारलाई नै केन्द्रित गरेर नीतिहरु ल्याउन थालेको र त्यसले सेयर बजारमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको गुनासोहरु आइरहेको अवस्थामा गनर्भरले यस्तो स्पष्टीकरण दिएका हुन् ।
केन्द्रीय बैंकले मौद्रिक नीति र यसको कार्यान्वयनमार्फत सेयर धितो कर्जामा ४ र १२ करोडको क्याप लगाइदिएपछि गभर्नर निकै आलोचित भइरहेका छन् । केन्द्रीय बैंक आफैं पुँजी बजारको नियामक बन्न खोजेको लगायतका आरोपहरु समेत लाएको छ । केन्द्रीय बैंकले सेयर धितो कर्जामा क्याप लगाइदिएपछि छोटो समयमै सेयर बजार झन्डै २२% ले घटेको थियो ।