ग्लोबल आइएमई बैंकको नाफा बढ्यो |
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले एक अर्ब ११ करोड २२ लाख रुपैयाँँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.०४ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब ५ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी घटेतापनि बैंकको निष्कृय कर्जा घटेपछि बैंकको नाफा बढेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.८२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५.४५ प्रतिशत बढेको छ। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा २७.६८ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा तीन अर्ब ३५ करोड ८० लाख रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ०.२७ प्रतिशतले घटेको छ। त्यसैगरी, बैंकको निक्षेप ०.२९ प्रतिशत घटेको छ भने कर्जा ९.८८ प्रतिशतले मात्र बढेको छ।
नाफा सामान्य बढेतापनि बैंकको प्रतिशेयर आम्दानी घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३२ पैसाबाट १ रुपैयाँ ७५ पैसाले घटेर २० रुपैयाँ ५७ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १९.४३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ०५ पैसा रहेको छ।