२८०० विन्दु माथि नेप्से, कारोबार रकम पनि बढ्यो |
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचकसँगै कारोबार रकम समेत बढेको छ। गत साता भरिनै बढेको नेप्से सूचक यस साताको पहिलो दिन पनि करिब २ प्रतिशतले बढेको छ।
आइतबार नेप्से सूचक ५५.५० अंकले बढेर २८३७.६२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ९.४६ अंकले बढेको छ।
नेप्सेको बढाइलाई आइतबारको कारोबार रकमले पनि साथ दिएको छ। गत विहिबार ५ अर्ब भन्दा कमको शेयर कारोबार भएकोमा आइतबार झण्डै ८ अर्ब नजिक पुगेको छ। यस दिन ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९२ रुपैयाँ बराबरको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर कारोबार भएको छ।
आइतबार विकास बैंक,हाइड्रोपावर र उत्पादनमूलक कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढी देखिन्छ। यस दिन कारोबारमा आएका १३ उपसमूहका बैंकिङ्ग उपसमूहबाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै ६.५४ प्रतिशतले बढेको छ।
आइतबार कारोबारमा आएका १२ कम्पनीकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनाइटेड इन्स्योरेन्स,लुम्बिनी विकास बैंक,सामुदायिक लघुवित्त, पाँचथर पावर, हिमालयन उर्जा र चन्द्रागिरी हिल्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ।
आइतबार एभरेष्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ६.५० प्रतिशतले घटेको छ भने बेष्ट फाइनान्सको २.२२ प्रतिशत, जीवन विकास लघुवित्तको १.३३ प्रतिशत, नविल बैंकको १.१३ प्रतिशत, कृषि विकास बैंकको १.१२ प्रतिशत र ग्लोबल आइएमई बैंकको १.०७ प्रतिशतले घटेको छ।
यस दिन आँखुखोला हाइड्रोपावरको सबैभन्दा धेरै ३१ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नविल बैंकको २८ करोड ३ लाख, एभरेष्ट बैंकको २७ करोड ७९ लाख, सिद्धार्थ बैंकको २४ करोड ३५ लाख र हिमालयन डिस्टिलरीको २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।