तीन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन |
काठमाडौं । नेप्सेमा सूचीकृत तीन लघुवित्तहरुको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ । यस दिनसम्म नेप्सेमा कारोबार भइ कायम आशा लघुवित्त, स्वरोजगार लघुवित्त र सिभिल लघुवित्तका शेयरधनीहरुले यी लघुवित्तहरुले वितरण गर्ने लाभांश प्राप्त गर्नुका साथै यिनीहरुको साधारण सभामा पनि सहभागिता जनाउन सक्नेछन्।
आशा लघुवित्त र स्वरोजगार लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक ११ गते बुकक्लोज गर्दैछ भने सिभिल लघुवित्तले कात्तिक १३ गते अर्थात आइतबार बुकक्लोज गर्दैछ।
आशा लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २७ गते शनिबार फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा पाँचौ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
त्यसैगरी, स्वरोजगार लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न कात्तिक २७ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा तेह्रौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
सिभिल लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो प्रस्ताव पारित गर्न लघुवित्तले कात्तिक २८ गते, आइतबार, बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वरमा दशौँ वार्षिक साधारण सभा डाकेको छ।
कात्तिक ९ गते, बुधबार, दोश्रो बजारमा आशा लघुवित्तको शेयर प्रतिकित्ता १८४० रुपैयाँमा अन्तिम कारोबार भएको छ भने स्वरोजगारको १५७७ रुपैयाँ र सिभिल लघुवित्तको १३९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।