धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो, दरखास्त आह्वान |
काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदको पूर्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको छ। सरकारले खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिद्वारा पदपूर्ति गर्न लागेको हो ।
सरकारले तोकेको योग्यता भएका इच्छुक नेपाली नागरिकहरुले १५ दिनभित्र अर्थात कात्तिक २५ गतेभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा गोप्य शिलबन्दी आवेदन दिनु पर्नेछ ।
धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय वाणिज्य व्यवस्थापन वा कानून क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको उच्च नैतिक चरित्र भएको नेपाली नागरिकले सो पदका लागि आवेदन दिन सक्नेछन्। यसका साथै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११ बमोजिम अयोग्य नरहेको र तीन वर्ष पुरा भइ साठी वर्ष उमेर ननाघेको हुनुपर्ने बिहीबार प्रकाशित सूचनामा उल्लेख छ ।
सरकारले, २०७६ पुसमा ४ वर्षका लागि नियुक्त भएका भीष्मराज ढुङ्गानाले आफु पदमा रहेको समयमा छोरी र परिवारको नाममा आफैले स्वीकृति दिने कम्पनीको शेयर खरिद गरी पदको दूरुपयोग गरेको भन्दै बरखास्त गरेको थियो। सरकारले उनको बरखास्तीपछि बाँकी अवधिका लागि नयाँ अध्यक्ष नियुक्त गर्न प्रक्रिया अगाडि बढाएको हो ।