नगद लाभांश बैंक खातामा पठाउन सेबोनको गाइडलाइन |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा कुन कम्पनीको नगद लाभांश हो भनेर स्पष्ट खुल्ने गरी खातामा पठाउन निर्देशन दिएको छ । बोर्डले सूचीकृत कम्पनीहरु आफैंले वा सेयर रजिष्ट्रारमार्फत सेयरधनीको बैंक खातामा लाभांश जम्मा गराउँदा कुन कम्पनीको कति लाभांंश हो भन्ने लगायतका पर्याप्त जानकारी नआएको गुनासो आएपछि स्पष्ट खुलाएर पठाउन निर्देशन दिएको हो ।
‘सूचीकृत कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको नगद लाभांश सेयरधनीको बैंक खातामा आफै जम्मा गर्दा र आफ्नो सेयर रजिष्ट्रार मार्फत बैंक खातामा जम्मा गराउँदा बैंक स्टेटमेण्टमा उक्त सेयर रजिष्ट्रार (क्यापिटल)को नाम मात्र आउने गरेकाले कुन कम्पनीको लाभांश हो, कुन आर्थिक वर्षको कुन दरको लाभांस हो स्पष्ट हुन नसकेको र हिसाब किताब राख्न सहज नभएको लगायतका व्यहोराको गुनासो बोर्डमा आउने गरेको छ’ बोर्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
योसँगै अब कम्पनीहरु आफै वा आफ्नो सेयर रजिष्ट्रार मार्फत सेयरधनीको बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष, लाभांश दर आदि खुल्ने गरी पठाउनुपर्नेछ । साथै, यस कार्यलाई सहजीकरण गर्न नेपाल क्लियरिङ्ग हाउसले हालै तोकिदिएको ढाँचामा (२८ सेप्टेम्बर, २०२१) अनिवार्य रुपमा सूचित गर्नुपर्ने विषयहरु स्पष्ट रुपमा खुलाई पठाउने व्यवस्था गर्न बोर्डले सम्बन्धित सूचीकृत कम्पनीहरुलाई भनेको छ ।