सामलिङ्ग पावरको आईपीओमा ३९ गुणा बढी आवेदन |
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको शेयरमा ३९ गुणा भन्दा बढी आवेदन परेका छन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार सोमबार सम्ममा २२ लाख ६५ हजार ६९८ आवेदकबाट २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ३३ हजार ५०० कित्ता शेयर माग भएको छ ।
यो सर्वसाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९०० कित्ताको ३९.६७ गुणा बढी हो ।
कम्पनीले बिहीबार कात्तिक ४ गतेदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो ।
त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।
कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ६७ हजार ८९० आवेदकले मात्रै १० कित्ता शेयर हात पार्नेछन् ।