सामलिङ्ग पावरको आइपीओमा आजसम्म आवेदन दिन सकिने |
काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । हिजो आइतवारसम्म कम्पनीको आइपीओमा १७ लाख ५८ हजार ४५० आवेदकबाट २ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ५७० कित्ता शेयर आवेदन परेको विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्टले जनाएको छ । यो मा गरिएभन्दा ३१ दशमलव १३ गुणा बढी आवेदन हो ।
कम्पनीले आज कार्तिक ४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ । कम्पनीले जारी पूँजीको १४.६ प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । सर्वसाधारण तर्फको उक्त शेयर मध्ये १४ हजार ६०० कित्ता कर्मचारी र ३६ हजार ५०० कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।
कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । सर्वसाधारणका लागि छुट्टाइएको उक्त शेयर ६७ हजार ८९० जनाले १०१० कित्ताका दरले प्राप्त गर्न सक्ने छन् ।
सर्वसाधारणले छिटोमा कार्तिक ८ गतेसम्म आवदेन दिन सक्ने छन् । यदि पहिलो चरणमा बिक्री भएन भने मात्रै कार्तिक १८ गतेसम्म बिक्री खुला गर्ने छ । सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवदेन दिन सक्ने छन् । अहिलेसम्मको आवदेन दिने प्याट्रन अनुसार अधिकतम १० कित्ता भन्दा धेरैको लागि आवदेन दिनु पर्ने छैन । कम्पनीले इलाममा ९ मेगावाट क्षमताको माइबेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।
प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ । जस मध्ये ७५।४ प्रतिशत संस्थापक समुहको, १० प्रतिशत प्रभावित बासिन्दाको र १४।६ प्रतिशत सर्वसाधारणहरुको हुनेछ । आयोजनाको अनुमानित लागत २ अर्ब रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २१ करोड ३ लाख रुपैयाँ पर्न आउछ ।