ब्याजदर घट्ने भएपछि नेप्से ६०.५६ अंक बढ्यो |
काठमाडौं । बुधबार नेप्से परिसूचक ६०.५६ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन २५१०.७३ विन्दुमा बन्द भएको नेप्से, यस दिन ६०.५६ अंक बढेर २५७१.६६ विन्दुमा पुगेको छ ।
ब्याजदर घट्ने भएपछि त्यसको सकारात्मक प्रभाव बजारमा परेको हो। दशैँ लगत्तै बैंकहरुले ब्याजदर बढाएको सूचना सार्वजनिक गरेसँगै नेप्सेमा उच्च गिरावट देखिएको थियो। तर, मंगलबार केन्द्रिय बैंकले ब्याजदर वृद्धिमा नियन्त्रण गर्न निर्देशिका जारी गरेको थियो। त्यस अनुसार बैंकहरुले ब्याजदर संशोधन गर्नु पर्नेछ। जसका कारण बैंकहरुको ब्याजदर घट्ने देखिन्छ। यसैको प्रभाव यस दिन बजारमा परेको जानकारहरु बताउँछन्।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार साढे ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा यस दिन २१७ कम्पनीको ३४ हजार ६४४ पटकको कारोबारमा २ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको ६१ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.८१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक ४.३१ प्रतिशत बढेको छ भने व्यापार, होटल तथा पर्यटन, विकास बैंक र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ९ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी र अरुण भ्यालीको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
बुधबार मैलुङ्ग खोला जलविद्युत कम्पनी, आँखुखोला जलविद्युत कम्पनी र यूनिभर्सल पावर कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन सिईडिबी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स र अरुण भ्यालीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।