नेपाली बजारमा सार्वजनिक भयो फक्सवागन एसयूभी टाइगुन |
काठमाडौं । नेपाली बजारमा लामो समयदेखि प्रतिक्षा गरिएको फक्सवागन एसयूभी टाइगुन सार्वजनिक भएको छ। नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पुजा इन्टरनेसन टाइगुन एसयूभी नेपाल भित्र्याएको हो।
नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत डा. थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गरेका हुन्।
नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्व स्तरीय १.० लिटर टर्बो चार्ज्ड इन्जिनद्वारा सञ्चालित छ, जसले ११४ हचपावर र १७८ एनएम टर्क जेनेरेट गर्छ। फक्सवागन आफ्ना ठूला एसयूभी गाडीहरुको लागि विश्वमै लोकप्रिय छ।
उत्तर अमेरिकी जंगल ‘टाइगा’ बाट ‘टाइगुन’ नाम राखिएको हो। भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई मध्यनजर गरी विशेष रुपमा टाइगुनको डिजाइन गरिएको छ।
अन्तर्राष्ट्रिय रुपमा प्रचलित एमक्यूबी प्लेटफर्मलाई फक्सवागनले एमक्यूबीएओ आईएन प्लेटफर्ममा स्थानीयकरण गरी भारतमा यसको उत्पादन गरेको हो। यसले विश्वभर प्रचलित फक्सवागनका सबै मोडलमा उपलब्ध टिकाउपन र गुणस्तरलाई टाइगुनमा समेत प्रयोगमा ल्याएको छ।
टाइगुन यो सेगमेन्टको गेम चेन्जर एसयूभी हुने र टिकाउपना, वातावरणमैत्री र सुरक्षाको सन्दर्भमा कम्प्याक्ट एसयूभीको संसारलाई नै पुनर्परिभाषित गर्नेछ। आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्राहकका लागि यो उपयुक्त एसयूभी बन्ने कुरामा कम्पनीको विश्वास छ।
कम मूल्यमा ४० भन्दा बढी सुरक्षात्मक संयन्त्र सहितको फक्सवागनका फन–टु–ड्राइभ विशेषताको यो कारमार्फत ग्राहकले आनन्द प्राप्त गर्ने कुरामा कम्पनी विश्वस्त छ। फक्सवागनले पहिलेदेखि नै उपलब्ध गराइरहेका योभन्दा ठूला कार टिगुआन र ट्वारेगमाप्रयोग गरिएको ग्लोबल डिजाइन ल्यांग्वेज र लाइनेज यसमा पनि प्रयोग गरिएको छ।
अरु के के छन विशेषता?
फक्सवागन टाइगुनमा फ्रेस तथा भाइब्रेन्ट डिजाइन सहितको स्टाइलिस बोल्ड एक्सटेरियर छ। अघिल्लो भागमा भएको मस्कुलर ग्रिललाई एलईडी डे टाइम रनिङ हेडलाइट (डीआरएल्स) सँग पूर्ण रुपमाएकीकृत गरिएको छ। उच्च ग्राउन्ड क्लियरेन्स र लामो ह्विलबेसभएका कारण नेपाली सडकका लागि पूर्ण रुपमा फिट छ।
इन्टेरियर डिजाइन पनि मोडर्न र फ्रेस छ भने ड्युअल टोन ड्यासबोर्डले कारको प्रिमियम अपिललाई अझै बढाएको छ।
फक्सवागन टाइगुनले ९.१ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टासम्मको गति लिन सक्छ। यसमा १० इन्च इन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, एलईडी टेललाइट लगायतका विभिन्न अत्याधुनिक फिचर पाउन सकिन्छ।
पुजा इन्टरनेश्नल नेपाल प्रालि का सीईओ विवेक बिजुक्छेले भने, ‘फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कार भित्रका यात्रु मात्र होइन, कार बाहिर वरिपरिका व्यक्तिहरुलाई समेत सुरक्षित राख्छ।
टायर प्रेसर डिफ्लेसन वार्निङ, बक्स सेन्सर सहितको रिभर्स क्यामेरा, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, हिलहोल्ड कन्ट्रोल, थ्री रियर हेड रिस्ट्रेन्टस आदि यसमा भएका केही एक्टिभ सेफ्टी फिचर हुन्। त्यसैगरी मल्टी–कोलिजन ब्रेक, मजवुत स्टिल स्ट्रक्चर वडी, ६ वटासम्म एयरब्याग, सबै यात्रुका लागि थ्री प्वाइन्ट सेफ्टी बेल्टलगायत अन्य धेरै प्यासिभ सेफ्टी फिचर यो गाडीमा उपलब्ध छन्।
सीईओ बिजुक्छे थप्छन्, ‘युरोपेली र चाइनिज बजारमा धेरै नै फ्यान भएका फक्सवागनको लोकप्रिय एसयूभी टी–क्रसलाई आधार मानेर नयाँ एसयूभी टाइगुन उत्पादन गरिएको छ। यसमा टी–क्रसमा भएका सबै विशेष फिचर समावेश गरिएका छन्। यो पावर, पर्फमेन्स, सेफ्टी र कम्फर्टमाकुनै पनि सम्झौता नगरिएको ‘ट्राइड एन्ड टेस्टेड भेइकल’ बनेको छ।’
कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुट समेत उपलब्ध गराउने भएको छ। प्रथम वर्ष कम्पनीले नेपालमा करीब १००० वटा टाइगुन बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ।
कति पर्छ मूल्य?
फक्सवागन टाइगुनको सुरुवाती भेरिएन्ट कम्फर्टलाइनको मूल्य सिमित अवधिको लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ। तीन भेरिएन्टमध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ।