हृदय गतिमा समस्या हुँदा प्रयोग गरिने एईडी राखेसँगै हिमालय एअरलाइन्स थप सुरक्षित |

काठमाडौं । हिमालय एअरलाइन्सले यसै साता आफ्ना सबै जहाजहरू (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९)मा अटोमेटेड बाह्य रुपमा प्रयोग गर्न मिल्ने जीवनदायी मेसिन अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (एईडी) राखेको छ ।
उक्त जीवनदायी मेसिन राखिए पश्चात् हिमालयका जहाजहरूमा यात्रा गर्दा विगत भन्दा निकै सुरक्षित, विश्वसनिय र आरामदायी हुने एअरलाइनसले जनाएको छ ।
के हो अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर ?
अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मेसिन हो जसले बिरामीको हृदय गति अकस्मात बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदय गति सुचारु राख्न मद्दत गर्दछ । यस कार्य पश्चात हिमालय एअरलाइन्स जहाजहरुमा अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर राखिएको राष्ट्रकै पहिलो र एक मात्र एअरलाइन्स कम्पनी भएको पनि कम्पनीले दावी गरेको छ ।
अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर मध्य आकाशमा जहाज उडिरहँदा भवितव्य बस यदि कुनै यात्रुमा श्वास–प्रश्वास बन्द हुने वा हृदय गति बन्द हुने जटिल समस्या आइपरेमा त्यस्ता विरामीको निदान गरी ज्यानै जान लागेको व्यक्तिलाई बचाउन मद्दत गर्दछ ।
एअरलाइन्सले यस्ता मेसिनहरु आफ्नो प्रधान कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित ग्राउन्ड ह्यान्डलिङ कार्यालयमा समेत जडान गरी आफ्ना सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य–सुरक्षाको समेत प्रत्याभूति गराएको जनाएको छ ।