एसेम्बल सवारीमा अन्तःशुल्क छुटको निर्णय सकारात्मक ː नाडा |
काठमाडौं । नाडा एसोसिएसन अफ नेपालले सरकारले ल्याएको चालु आर्थिक वर्षको प्रतिस्थापन विधेयक सकारात्मक रहेको बताएको छ । नाडाले प्रतिस्थापन विधेयकमार्फत सरकारले नेपालमा सवारीसाधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तःशुल्क महसुलमा ५० प्रतिशत छुट दिने स्पष्ट निर्णय गर्नु स्वागतयोग्य रहेको बताएको छ ।
नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा एसेम्बल गरी सवारीसाधन पैठारी गर्दा लाग्ने र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्थाले नेपालमा एसेम्बलिङ उद्योग स्थापनाका लागि सहयोग पुग्ने बताइएको छ ।
त्यस्ता सवारीसाधन उत्पादन गर्ने एसेम्बलिङ उद्योग सञ्चालन गर्न सम्बन्धित ऐन र नीतिनियमको स्थिरता महत्त्वपूर्ण रहेको उनको भनाइ छ । सरकार परिवर्तन हुँदैमा त्यस्ता उद्योगलाई कुनै असर नपर्ने नाडाले आशा राखेको जनाएको छ ।