लाइसेन्स ट्रायल परीक्षा आजदेखि खुल्यो, नयाँ आवेदनमा भने अझैं अन्योल |
काठमाडौं । कोरोना भाइरस महामारीका कारण झन्डै ५ महिना रोकिएको सवारी चालक अनुमति पत्र लाइसेन्स ट्रायल परीक्षा आजदेखि खुलेको छ ।
यातायात व्यवस्था विभागले आज अर्थात भदौ २० गतेबाट देशभरका यातायात कार्यालयबाट बाँकी रहेको ट्रायल परीक्षा मात्रै सञ्चालन गर्ने तर नयाँ सवारी चालक अनुमति पत्र आवेदन नलिने गरी प्रयोगात्मक परीक्षा सञ्चालन अनुमति दिएको हो ।
यसअघि जिल्ला प्रशासन र सीसीएमसीले यातायातको लाइसेन्स ट्रायल परीक्षमा भिडभाड हुने जनाउदै सञ्चालन अनुमति दिएको थिएन ।
हाल लाइसेन्स ट्रायल परीक्षाका लागी मात्रै चार लाखभन्दा बढी सेवाग्राही पर्खेर बसिरहेका छन् भने झन्डै ११ लाख सेवाग्राहीले लाइसेन्सका लागी अनलाइन र भौतिक रुपमा आवेदन दिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।
‘हामीले तत्कालका लागी लिखित परीक्षा दिएर बसेका, भिजिट डेट पाएका र रिट्रायलका लागी बसेका सेवाग्राहीका लागी लाइसेन्स ट्रायल परीक्षा सञ्चालनमा ल्याएका हौं’।
तर, नयाँ लाइसेन्स अवेदनका पहिलाकै अत्याधिक चाप रहेको कारण हालै नखुलाइएको उनको भनाई छ। काठमाडौं उपत्यकाका यातायात कार्यालयले प्रयोगात्मक परीक्षा दिन बाँकी रहेका सेवाग्राहीलाई धमाधम बोलाउन थालेको छ ।
गत वर्षपनि कारोना महामारीको कारण १० महिना बन्द भएर सवारी चलक अनुमति पत्रको सबै प्रक्रिया रोकिएको थियो । विभागले ४ लाख ट्रायल दिन बाँकीको मंसिर महिना भित्र सक्ने तयारी गरेको छ ।
उनले भने, ’तत्काल लिखित दिएर बसेका वा ट्रायल फेल भएर रिट्रायलका लागि बस्नुभएकाहरूका लागि ट्रायल खुलाउँदैछौँ। ’नयाँ आवेदन खुलाउनेबारेमा भने टुंगो नलागेको घिमिरेको भनाइ छ ।
नयाँ प्रणालीपनि आजैदेखि
यातायात व्यवस्था विभागले आजैदेखि अब हुने परीक्षा नयाँ अंकभार प्रणाली लागू गर्ने भएको छ। विभागले जारी गरेका ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा (लिखित र प्रयोगात्मक –ट्रायल) दुवै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ।
हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ। तर नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट बञ्चित हुनुपर्दैन ।
नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरिसकेको छ । विभागले ‘क’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक भएको छ ।
त्यही संग्रहभित्रबाट २० वटा वस्तुगत बहुउत्तर प्रश्न सोधिनेछ। ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्नेछ । लिखित परीक्षा पास भएका परीक्षार्थीले आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिन सक्नेछन् ।
तर, त्यसका लागि मोटरसाइकल तथा स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२ सय मिलिमिटरको ह्विल बेस भएको, मोटरसाइकलमा म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।
कार जीपको हकमा कम्तिमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३ सय मिलिमिटर हृविल बेस भएको, लम्बाइ, चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बीमा अद्यावधिक भएको हुनुपर्नेछ।
परीक्षणकालीन लाइसेन्सपनि वितरण शुरु
सवारीचालक अनुमति पत्रको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएकालाई यातायात व्यवस्था विभागले परीक्षणकालीन लाइसेन्स वितरण शुरु गरेको छ।
स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही वर्षदिन कुर्नपर्ने बाध्यताका कारण विकल्पमा विभागले अस्थायीरूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन शुरू गरेको हो ।
लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकले क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने छन्।
हालका लागि काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण शुरु भइसकेको र क्रमशः देशैभरका यातायात कार्यालयहरुमार्फत वितरण गर्ने विभागका तयारी छ।