शेयर धितो कर्जाको सिमा खारेज गर्न अर्थमन्त्रीलाई इन्भेष्टर्स फोरमको ध्यानकर्षण |
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले शेयर धितो कर्जामा १२ करोडको सीमा तत्काल खारेज गर्न माग गरेको छ । अर्थमन्त्रीलाई ध्यानकर्षण गराउँदै फोरमले शेयर धितो कर्जाको सीमा खारेज गर्न माग गरेको हो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति र एकीकृत निर्देशिकाले शेयर धितो कर्जाको सीमालाई १२ करोड रुपैयाँ सिमित गरेको छ । उक्त १२ करोड रुपैयाँ पनि ३ वटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँको दरले मात्रै लिन पाउने व्यवस्था गरेको छ ।
यस्तो व्यवस्थाले गर्दा लगानीकर्ताहरुले शेयर बिक्री गरी ऋण चुक्ता गर्दा शेयर बजारमा प्रत्यक्ष दबाब सिर्जना भई विगत धेरै दिनदेखि शेयर बजारमा निरन्तर रुपमा गिरावट आएको जनाएको छ ।
यस्तै राष्ट्र बैंकले शेयर धितो कर्जा सम्बन्धी विभेदकारी तथा अव्यवहारिक नीतिका कारण शेयर बजारलाई जोगाउन र लगानीकर्ताका लागि लगानीको वातावरण बनाउन एकिकृत निर्देशिकाले व्यवस्था गरेको १२ करोड ऋणको सीमा तत्काल खारेज गर्न अर्थमन्त्री समक्ष आग्रह गरेको छ ।