नेप्सेमा सामान्य सुधार, ९ अर्ब ३५ करोडको कारोबार |
काठमाडौं । बुधबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । पछिल्लो २ कारोबार दिनमा ११८.२३ अंक घटेको नेप्से, यस दिन झिनो अंकले बढेर बन्द भएको छ ।
यस दिन नेप्से परिसूचक १.१४ अंक बढेर २९७६.९८ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.११ अंक घटेको छ ।
यस दिन कारोबार अवधिमा ३०१८ विन्दुसम्म पुगेको थियो । यस दिन बजारमा देखिएको झिनो सुधारलाई ‘डेड क्याट बाउन्स’ हो कि भन्ने आशंका गरिएको छ । यस दिन भोल्युमले साथ नदिएका कारण बजारको वृद्धि कमजोर मानिएको उनीहरुको भनाइ छ ।
यस दिन नेप्से बढेपनि भोल्युम भने घटेको छ । अघिल्लो कारोबार दिन १३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ९ अर्बको शेयर कारोबार भएको छ । यस दिन २२६ कम्पनीको १ लाख ४ हजार ३४२ पटकको कारोबारमा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७६ प्रतिशत बढेको छ । त्यसैगरी, जीवन बीमा उपसमूहको परिसूचक ०.४४ प्रतिशत, बैंकिङ्गको ०.४ प्रतिशत र लगानीको ०.०१ प्रतिशत बढेको छ ।
ओरालो लागेका उपसमूहमध्ये यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७५ प्रतिशत घटेको छ । अन्य उपसमूहको परिसूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५९ करोड ९३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन युनाइटेड मोदी हाइड्रोपावरको ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
बुधबार रु रु जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ७.५५ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन ओरियन्टल होटल, युनाइटेड मोदी र हिमालयन उर्जाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । आज मूल्य समायोजन भएको सनराइज म्युचुअल फण्डको इकाईमूल्य यस दिन ९.९८ प्रतिशत घटेको छ । त्यस्तै, खानीखोला हाइड्रोपावरको शेयरमूल्य यस दिन ७.७७ प्रतिशत घटेको छ ।