शेयर धितो कर्जामा रिसाइकल भएकाले कडाई गर्नु पर्यो ː गभर्नर |
काठमाडौं । शेयर धितो कर्जामा रिसाइकल भएकोले उक्त कर्जामा केही कडाई गर्नुपरेको केन्द्रिय बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्। उनले नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको एक कार्यक्रममा यस्तो बताएका हुन।
कुनै कम्पनीको शेयर धितो राखेर ४ करोड कर्जा लिने। पुनः त्यसको शेयर किन्ने र धितोमा राखेर ७० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँ कर्जा लिने। पुनः त्यो शेयरमै लगाउने र ७० प्रतिशत कर्जा लिने। यस्तै प्रबृत्ति देखिएको उनले बताए। “यो प्रबृत्ति ठिक छैन भनेर सिमा राखेका हौ। सिमा पनि धेरै नै राखेका छौ।“ उनले भने।
कार्यक्रममा उनले प्रश्नसमेत गरे “तपाईहरु कसैले लिनुभएको छ ४ करोड कर्जा? कसरी सानो भयो? कसलाई सानो लाग्यो? करोड भनेको सानो हो?“
यो प्रबृत्तिले गर्दा बैंकहरुलाइ समेत अफ्टेरो परिसकेको अवस्था रहेको उनले बताए।
कुनै पनि कम्पनीको शेयर धितोको रुपमा राखेर व्यवसाय गर्नको लागि कर्जा लिन भने यो व्यवस्थाले कुनै फरक नपार्ने उनले प्रस्ट पारे।
यसैगरी उनले बजारमा अहिले चाहिनेभन्दा ३३ अर्ब बढी तरलता रहँदा समेत तरलता अभाव भयो भन्न नहुने बताए। अहिले तरलता पर्याप्त रहेको उनको भनाई छ।
अहिले सिस्टम आँफैमा ब्याजदर घटेर १० प्रतिशतभन्दा कममा पाइराखेको छ भने त्यही नै ठुलो कुरा रहेको उनले बताए। ब्याजदर तलमाथि भइरहने हुँदा समग्र अवस्था कता जाँदै छ भनेर हेर्नुपर्ने उनले बताए। ऋणको व्याजदर एकल विन्दुमा र वचतको व्याजदर मुद्रास्फितिभन्दा माथि रहनु स्वस्थकर हुने समेत उनले जानकारी दिए।