गत आवमा भित्रियो ९ खर्ब ६१ अर्ब रेमिट्यान्स, ९.८ प्रतिशतले बढ्यो |
काठमाडौं । गत आर्थिक वर्ष २०७७∕७८ मा ९६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स् भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो । रेमिट्यान्स घटेपनि वैदेशिक रोजगारीमा जानेको संख्या भने गत वर्ष धेरै घटेको थियो ।
आर्थिक वर्ष २०७७–७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ ।