नेप्से सिइओ साउदको कार्यकालमा भएका २८ काम |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिँह साउदले आफ्नो कार्यकालमा भएका २८ बुँदे कार्य सार्वजानिक गर्दै राजीनामा दिएका छन्।
सर्बोत्तम सिमेन्ट लगायतका कम्पनीको शेयर खरिदमा प्रश्न उठेपछि उनले अनुसन्धानमा सहयोग पुर्याउन भन्दै राजिनामा दिएका हुन। उनले आफुले सर्बोत्तम सिमेन्ट नेप्सेमा सूचीकृत नभएको हुनाले ओटिसी बजारबाट श्रीमतिको नाममा १० हजार कित्ता शेयर खरिद गरेको प्रस्ट पारेका छन्।
राजिनामा दिँदै गर्दा साउदले आफ्नो कार्यकालमा भएका कार्यहरुलाई २८ वटा बुँदामा समेटेर सार्वजानिक गरेका छन्।
उनले आफ्नो कार्यकालमा अनलाइन सिस्टमको विकास, परिक्षण तथा कार्यन्वयनमा ल्याएको, ओभर द काउन्टर मार्केट सक्रिय गराउन उपसमित गठन गरी प्रकृया अगाडि बढाएको, नयाँ वेबसाइटको विकास, एपिआई पोलिसि तर्जुमा गरी धितोपत्र बोर्डमा पेश गरेको मार्जिन ट्रेडिङ र टिक साइज को कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याएको लगायतका कार्यहरु गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी इन्ट्राडे ट्रान्जेक्सन, लेन्डिङ बरोविङको कार्य पद्दति विकास सम्बन्धमा अध्ययन सम्पन्न भएको, आइटि पोलिसि तर्जुमा गर्ने कार्य सम्पन्न भएको साउदले जनाएका छन्।
त्यसैगरी उनको कार्यकालमा शेयर कारोबार रकम बजार पूँजीकरण, सूचीकृत कम्पनीको शेयर सँख्या, अनलाइन प्रयोगकर्ता समेत उल्लेख्य बढेको छ। यसबाट नेप्से, सेवन र सरकारको पूँजीगत लाभकर समेत उल्लेख्य बढेको छ।