मानुषी लघुवित्तको आईपिओ बाँडफाँट, ३६ हजार ८५९ जनाले पाए १० कित्ता शेयर |
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले साउन २७ देखि ३१ गतेसम्म निष्काशनमा ल्याएको शेयर आज सोमबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टमा बाँडफाँट भएको हो ।
लघुवित्तको आईपिओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर वितरण भएको छ । गोलाप्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाएका छन् भने भाग्यमानी ३ जनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाएका छन् ।
लघुवित्तको आईपिओमा २३ लाख ५४ हजार ७८४ जना आवेदक मध्ये ९८.४७ प्रतिशत आवेदकले शेयर पाएनन् ।
लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो ।