विकास बैंकहरुले मागे शेयर ब्रोकरको लाइसेन्स |
काठमाडौं । विकास बैंकले पनि शेयर ब्रोकरको लाइसेन्स पाउनु पर्ने माग राखी धितोपत्र बोर्डलाई पत्र लेखेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृति (सिइओ)हरुको संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनले बुधबार बोर्डलाई पत्र लेखेर यस्तो माग गरेको हो । एसोसिएसनले विकास बैंकका सहायक कम्पनीले पनि शेयर ब्रोकरको लाइसेन्स पाउनु पर्ने माग गरेका हुन् ।
एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै शेयर ब्रोकरको काम गर्न अनुमति दिन धितोपत्र बोर्डसँग माग गरेको हो । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ मा ‘बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनी मार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ’ भन्ने र सोही ऐनलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारबाट स्वीकृतिलिइ नेपाल धितोपत्र वोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं. बुंदामा ‘प्रचलित कानून बमोजिम स्थापना भएको ‘क’ बर्गका बैंक वा विशेष ऐन द्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ’ भन्ने व्यवस्था अनुसार विकास बैंकहरुले पनि आफ्ना सहायक कम्पनीहरु मार्फत धितोपत्र व्यवसाय गर्ने अनुमती प्रदान गरिदिनका लागि नेपाल धितोपत्र वोर्डलाई पत्र लेखेका हुन् ।
विकास बैंकहरुले कम्पनी ऐन २०६३ अनुसार स्थापनाभइ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजत प्राप्तलिइ बैंकिङ् सेवा प्रदान गर्दछन् ।
राष्ट्रिय स्तरका विकास बैंकहरुको औंषत चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैंयाँ नाघि सकेको छ । त्यस्तैगरी विकास बैंकहरुले एक हजार बढी शाखाबाट करिव ४१ लाख खातावालाहरुलाई बैंकिङ् सेवा प्रदान गर्दै ३ लाख बढी ग्राहकलाई कर्जा प्रवाह गरेका छन् । त्यस्तैगरी, २०७८ असार मसान्तसम्ममा ४४५ अर्ब रुपैंयाँ निक्षेप परिचालन गरी ३८३ अर्ब रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।