२१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको निर्माण सुरु |

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा बन्न लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । भूमिगत विद्युत् गृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’को काम मंगलबार सुरु भएको हो ।
२४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो बिष्फोट गराइएको छ । मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण सुरु गरिएको छ ।
आयोजना स्थलमा क्रसर प्लान्ट तथा ब्याचिङ प्लान्टको स्थापना, निर्माण सामाग्रीहरुको परीक्षण, पहुँच सडकका लागि त्रिशूली नदीमा बेली बि्रजको निर्माण, बाँधलगायतका संरचना निर्माणका लागि रुख कटान, सर्ज ट्याङ्कतर्फको पहुँच सडक निर्माण लगायतका काम धमाधम भइरहेको छ । निर्माणमा अहिले दुई सय श्रमिक आयोजनास्थलमा खटिएका छन् ।
आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसानले ठेक्का पाएको छ । माथिल्लो त्रिशूली-१ आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको पहिलो आयोजना हो ।
आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोरिया साउथ इष्ट पावर कम्पनी लिमिटेड -कोएन) र विश्व बैक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम लगायतको शेयर लगानी छ ।
साथै आयोजना प्रभावित स्थानीयको लागि अधिकतम १० प्रतिशतसम्म शेयर लगानी सुनिश्चित गरिएको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) कुल लागत अनुमान रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् ।
आयोजनाबाट वाषिर्क रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वाषिर्क ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली-३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।
वषर्ाभरि आयोजनाबाट १०४ मेगावाट स्थिर ऊर्जा प्राप्त हुने छ भने आयोजनाको निर्माण २०८३ को मंसिर भित्र सक्ने लक्ष्य राखिएको छ ।