सोल्टी होटलमा महामारीको असर कायमै |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सोल्टी होटल १८ करोड ६० लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा भने होटलले ११ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको थियो । अहिले कोरोना महामारीका कारण पर्यटक आवागमन बन्द छ । यसको प्रत्यक्ष प्रभाव होटलको आम्दानीमा परेको छ ।
सोल्टीको व्यवस्थापन पक्षले पनि नोक्सानमा जानुको प्रमुख कारण कारोना महामारीलाई लिएको छ । असार मसान्तसम्म सोल्टीको आम्दानी पनि ६५.८७% ले घटेर ४३ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसको आम्दानी १ अर्ब २६ करोड रुपैयाँ रहेको थियो ।
यो त्रैमासम्ममा होटलको सञ्चालन नोक्सान १८ करोड ३३ लाख रुपैयाँ रहेको छ ।
यद्दपि, यस अवधिमा संस्थाको मौज्दात र तरलता औसत नै रहेको सोल्टीको व्यवस्थापन पक्षले जानकारी गराएको छ । साथै, होटलले सञ्चालन खर्च घटाउने र न्यून सञ्चलन खर्चमै होटलका संरचनागत सुविधाहरु पूर्ण क्रियाशील राख्ने रणनीति बनाएको छ । यस्तै, अन्य अनावश्यक खर्चहरु पनि कटौती गर्ने संस्थाले जनाएको छ ।
हाल यसको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको सोल्टीको रिजर्भ कोषमा ६२ करोड ११ लाख रुपैयाँ छ । गत वर्ष रिजर्भमा ८१ करोड ८६ लाख रुपैयाँ रहेको थियो । यो होटल प्रतिसेयर २ रुपैयाँ २१ पैसा नोक्सानमा छ । अघिल्लो वर्ष यसै अवधिमा भने प्रतिसेयर आम्दानी १ रुपैयाँ ३३ पैसा थियो । प्रतिसेयर नेटवर्थ पनि १९ रुपैयाँ ६७ पैसाबाट घटेर १७ रुपैयाँ ३७ पैसामा आएको छ ।