ङादी ग्रुपले बोलायो साधारण सभा, बोनस शेयर वितरणपश्चात हकप्रद निष्काशन गर्ने |
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
कम्पनीले असोज ३ गते, क्वीन्स क्याफे, अनामनगर, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ९ बजे शुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७÷७८ को खुद मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने, सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै अन्य जलविद्युत कम्पनीलाई प्राप्ती गर्ने, बझाङ अपर सेती हाइड्रोपावर प्रोजेक्ट ७०.४० मेगावाटको सर्वेक्षण अनुमति पत्रको लागि आवेदन दिएको र सो सम्बन्धमा भए गरेका प्रगति विवरणहरु सभालाई जानकारी गराउने र थप आवश्यक कार्यका लागि सञ्चालक सििमतलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ १८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।