मिर्मिरे लघुवित्तले घोषणा गर्यो लाभांश |
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । यस अनुसार लघुवित्तले ८ करोड ७० लाख १४ हजार २३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ ।
आर्थिक वर्ष २०७६∕७७ र २०७७∕७८ मा मर्जर तथा प्राप्ती कार्य सम्पन्न गरी दुई संस्था प्राप्ती गरी एकिकृत कारोबार शुरु गरिसकेका कारण शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनार्थ नगद लाभांश छुट्याइएको छैन ।
साउन ३० गते सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल लघुवित्तको चुक्ता पूँजी ४३ करोड ५० लाख ७१ हजार १५६ रुपैयाँ छ । २० प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ५२ करोड २० लाख ८५ हजार ३८७ रुपैयाँ पुग्नेछ ।