एलआईसी नेपालको खुद बीमाशुल्क करिब १५ प्रतिशतले बढ्यो |
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १७ अर्ब ४ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १४.९० प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १४ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ६ अर्ब २० करोड ९४ लाख रुपैयाँ, पुनर्बीमा कमिशन बापत १ करोड ४० लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १ अर्ब ४३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ।
यस अवधिमा इन्स्योरेन्सको खुद नाफा पनि ५९.४४ प्रतिशतले बढेर १९ करोड ९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। इन्स्योरेन्सको खुद नाफा बीमांकिय मुल्यांकनपछि फरक पर्न सक्नेछ।
चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६४ करोड ८७ लाख, जीवन बीमा कोषमा ८१ अर्ब ६ करोड ९९ लाख रुपैयाँ सञ्चित छ।
इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात २७१.१२ गुणा छ।
यस अवधिमा इन्स्योरेन्सले १७ अर्ब १४ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले १८ हजार ९८० वटा दाबी बापत ७ अर्ब ४९ करोड ४४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २५ करोड ७२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।