सूर्या लाइफ इन्स्योरेन्सको खुद नाफा ४६.९७ प्रतिशतले बढ्यो |
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार इन्स्योरेन्सले अधिकांश सूचकमा सन्तोषजनक सुधार गरेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४ अर्ब १८ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.९७ प्रतिशत बढी हो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा २३.०१ प्रतिशत बढेर ३२ करोड ३२ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षमा ५ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको यस इन्स्योरेन्सको जगेडा कोष समीक्षा अवधिमा २५.२५ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा इन्स्योरेन्सको जीवन बीमा कोष ४३.५४ प्रतिशत र महाविपत्ति कोष ३३.७८ प्रतिशत बढेको छ। इन्स्योरेन्सले सो अवधिसम्ममा जीवन बीमा धितो बापत १ अर्ब १६ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरी १० लाख ८ हजार रुपैयाँ आम्दानी गरेको छ।
खुद नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको १४ रुपैयाँ २९ पैसा रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ रुपैयाँ ९ पैसा बढी हो। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३६.५४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ३९ पैसा रहेको छ।