एनआरएनए प्रतिनिधि र प्रधानमन्त्रीबीच भेट, गैरआवासीय नेपाली नागरिकताबारे ध्यानाकर्षण |

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । अन्तर्राष्ट्रिय अध्यक्ष कुमार पन्त नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री देउवालाई भेटेर शुभकामना दिएको हो ।
भेटका क्रममा अध्यक्ष पन्तले संघले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए ।
साथै कोरोना महामारीको विषम् परिस्थितिमा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुर्नस्थापनालगायतका विषयमा सरकारले छिटो राहतमुखी कार्यक्रम ल्याउनसमेत अध्यक्ष पन्तले आग्रह गरे ।
भेटमा संघका पूर्वअध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका बिट्रिश गोर्खाको सत्याग्रहको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरुको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिकरुपमा पहल गरिदिन आग्रह गरे । लामिछानेले पनि विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विषयबारे प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए ।
एनआएएनए नेतृत्वको ध्यानाकर्षणपछि प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भए बमोजिम छिट्टै गैरआवासीय नेपाली नागरिकतालगायतका विषय टुंगो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेटका क्रममा संघका उपाध्यक्षद्वय सोनाम लामा, रविना थापा, गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा संजिव सापकोटा, संघका कार्यकारी प्रमुख राजेश राणालगायतको उपस्थिति रहेको थियो ।