कालिका लघुवित्त वित्तीय संस्थाको नाफा बढ्यो |
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तले खराब कर्जा उठाउन सफल भएपछि खुद नाफा उल्लेख्य बढेको छ।
गत असार मसान्तसम्ममा लघुवित्तले ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा २९ लाख ६७ हजार रुपैयाँ मात्र थियो।
लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक भएपनि खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा उल्लेख्य बढेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७३.९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २ करोड ६० लाख रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापत १९ करोड ७० लाख रुपैयाँ व्यवस्था गरेको छ भने ११ करोड ३६ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।
समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष ४७.२७ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १९.०५ प्रतिशत, निक्षेप ८.४७ प्रतिशत र कर्जा २४.७५ प्रतिशत बढेको छ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस) १८ रुपैयाँ ८२ पैसा बढेर १९ रुपैयाँ ८९ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७१.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ १७ पैसा रहेको छ।