एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी |

बार्सिलोना । एनआरएनए स्पेनको सातौँ अधिवेशनबाट अध्यक्षमा शालिकराम डुम्रे विजयी बनेका छन् । अध्यक्षका अर्का प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै डुम्रे निर्वाचित भएका हुन्। डुम्रेले एक हजार १८ मत प्राप्त गरे भने राईले ८६३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
डुम्रे नेपाली जनसम्पर्क समिति स्पेनका पूर्वअध्यक्षसमेत हुन् भने राई एनआरएनए स्पेनको निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्। नेपाली जनसम्पर्क समिति स्पेनको समर्थन रहेको डुम्रे नेतृत्वको समूह नै निर्वाचनमा विजयी बनेको छ। यद्यपि समितिबाट सबै पद संख्या बराबर उम्मेदवारहरु खडा गरिएको थिएन ।
दुई हजार १९ पंजीकृत सदस्यहरूरहेको स्पेनमा एक हजार ९०४ जनाले अनलाइनमार्फत मतदान गरेका थिए । कुल मतदातामध्ये ९४ प्रतिशतले मतदानमा भाग लिएका छन् । यो एनआरएनए स्पेनको इतिहासमै सर्वाधिक बढी खसेको मत हो।
सोमबार बिहान १० बजेदेखि सुरु भएको मतदान राति १० बजे सम्पन्न भएको थियो। अनलाइन भोटिङ्गको जिम्मेवारी साइटल इलेक्सन टेक्नोलोजी एसएल कम्पनी बार्सिलोनाले लिएको थियो।
आईसीसी सदस्यमा गिरी र तिमिल्सिना विजयी
यस्तै दुई अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य (आईसीसी) पदका लागि दिनेश कुमार गिरी एक हजार दुई मतका साथ विजयी बने । प्रकाश तिमिल्सिना पनि आईसीसी सदस्य पदमा निर्वाचित बनेका छन् । उनले ९५६ मत प्राप्त गरे । अर्का प्रत्यासी यज्ञ नारायण पौडेलले (रमेश) ८६९ मत प्राप्त गरेका छन्।
विजयी बनेका गिरी निर्वतमान कार्यसमितिका उपाध्यक्ष हुन् भने तिमिल्सिना पूर्वउपाध्यक्ष हुन्। छैठौं अधिवेशनमा आईसीसी सदस्यमा पराजित भएका तिमिल्सिना सातौ अधिवेशनमा भने चुनाव जितेका छन्।
यस्तै खुल्ला उपाध्यक्षतर्फ सोनु रावतले एक हजार ४६ मत मत प्राप्त गर्दै विजयी बने। उपाध्यक्षमा नै कृष्णराम रानाभाट ९६६ मत ल्याउँदै निर्वाचित भए। महिला उपाध्यक्षमा सिर्जना लामिछाने एक हजार १५४ मत प्राप्त गर्दै विजयी भइन्। क्षेत्रीय कोटाको उपाध्यक्षमा रोशन पाठकले ९३९ मतका साथ विजयी बनेका छन्।
महासचिवमा विदुर गौतम एक हजार १४ मत ल्याउँदै निर्वाचित भए । सचिव (खुल्लातर्फ) अरुण घिमिरेले एक हजार १७१ मतका साथ र नारायण भट्टराई (एन.के) ८५५ मत सहित विजयी बनेका छन्।
कोषाध्यक्षमा सन्तबहादुर क्षेत्री ९३३ मत ल्याउँदै निर्वाचित भए । युवा संयोजकका मनुशजंग खड्काले ९७३ मत ल्याएर विजयी भए । म्याड्रिड क्षेत्रबाट सचिव पदका लागि सुन्दरी लामाले ९७८ मत ल्याउँदै निर्वाचित भइन्।
निर्विरोध को–को बनेका थिए ?
यसअघि सहकोषाध्यक्षमा शिवप्रसाद पौडेल र महिला संयोजकमा देवीकुमारी भण्डारी, क्षेत्रगत सचिवमा पाइसभास्कोबाट दीपेन्द्र प्रकाश अर्याल, ग्रान कानरियाबाट दीपेन्द्र श्रेष्ठ निर्विरोध बनेका थिए । कोष्टÞाब्याङ्का क्षेत्रबाट भने एक जना सचिव पछि मनोनित गरिने संघको निर्वाचन नियामवलीमा उल्लेख छ।
कार्यसमिति सदस्यमा इमा सापकोटा भट्ट, कमल पराजुली, जमुना देवी शर्मा, प्रकाश पुरी र डिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।