एनआईसी एशिया लघुवित्तको नाफा ५६ करोडभन्दा बढी |
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तले व्यवसाय बढाउँदै खुद नाफामा पनि आकर्षक सुधार गरेको देखिन्छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५६ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२१.४९ प्रतिशत बढी हो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७५.९३ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी १८५.४६ प्रतिशत बढेको छ। सो अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २२९.२० प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा २५ करोड ९५ लाख रुपैयाँ छुट्याएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुवित्तको चुक्ता पूँजी १७.५३ प्रतिशत बढेको छ भने जगेडा कोष २३३.५६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको सापटी १६७ प्रतिशत बढेको छ भने निक्षेप १८०.२४ प्रतिशत र कर्जा लगानी १४०.०५ प्रतिशत बढेको छ।
नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य सुधार भएको छ। सो अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ ६० पैसा बढेर ३२ रुपैयाँ ४६ पैसा पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.५८ गुणा रहेको छ।