उन्नति सहकार्य लघुवित्तको नाफा १९२.८८% ले बढ्यो |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा उन्नति सहकार्य लघुवित्तको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा १९२.८८% ले बढेर ९ करोड ४९ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड २४ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ ।
यसले संस्थाको खुद नाफा बढाउन सहयोग गरेको हो । अघिल्लो वर्ष ५ करोड ९८ लाख ८५ हजार रुपैयाँ प्रोभिजनमा छुट्याएको उन्नति सहकार्य लघुवित्तले असार मसान्तसम्म आइपुग्दा प्रोभिजनको लागि रकम छुट्याएको छैन । यसले पनि नाफा बढ्न टेवा पुर्याएको हो ।
खुद ब्याज आम्दानी ३९.३८% ले बढेर २४ करोड ५६ लाख ६१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा २००.५४% ले बढेर १३ करोड ६९ लाख ४२ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ २३ पैसाले बढेर ५३ रुपैयाँ ९२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ३८ पैसा छ । चुक्ता पुँजी १७ करोड ६१ लाख ६९ हजार रुपैयाँ र जगेडा कोषमा १२ करोड ३९ लाख ९६ हजार रुपैयाँ छ ।