इलाममा निषेधाज्ञा जारी भएपछि सामलिङ पावरको आइपीओ स्थगित |
काठमाडौं । सामलिङ पावर कम्पनीले शुक्रबार (साउन २२ गते) देखि आयोजना प्रभावितका लागि निष्कासन खुला गर्न लागेको आइपीओ तत्काललाई बन्द भएको छ । कम्पनीले कोरोना भाइरस संक्रमणका कारण इलाम जिल्लामा साउन १८ गतेदेखि २५ गतेसम्म निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको समयमा स्थानीयवासीलाई आइपीओ भर्नका लागि हिडडुलमा समस्या हुने भएकाले तत्काललाई स्थगित गर्न परेको कम्पनीले जनाएको छ ।
अब कहिलेबाट बिक्री खुला गर्ने भन्नेबारेमा अर्को सूचना सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावितका लागि कुल ५ लाख कित्ता आइपीओ बिक्री खुला तयारी गरेको छ । जसमध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दालाई ४०% अर्थात २ लाख कित्ता सेयर छुट्याइएको छ ।
बाँकी ६०% अर्थात ३ लाख कित्ता भने इलाम जिल्लाभारीका स्थानीयका लागि छुट्याइएको छ । हाल सामलिङ पावरद्वारा इलाम जिल्लामा निर्माणाधिन माइबेनी जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ । यसको अनुमानित कुल लागत २ अर्ब रुपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ३ लाख ५ हजार रुपैयाँ रहेको छ ।