गणपतिको खुद नाफा ७६ प्रतिशत बढ्यो |
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सन्तोषजनक सुधार गरेको छ।
असार मसान्तसम्ममा लघुवित्तले ४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.९१ प्रतिशत बढी हो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफासँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४०.७५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६०.०८ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले १ करोड ७९ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १५ प्रतिशत बढेको छ भने जगेडा कोष ७३.३६ प्रतिशत बढेको छ। लघुवित्तको सापटी समीक्षा अवधिमा १८.३५ प्रतिशत बढेको छ भने निक्षेप ३८.१० प्रतिशत र कर्जा २१.१० प्रतिशत बढेको छ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ११ रुपैयाँ ४६ पैसा बढेर ३३ रुपैयाँ ८ पैसा कायम भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५१.४८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ २८ पैसा रहेको छ।