६५ प्रतिशतको पहूँचमा मोबाइल इन्टरनेट, ६६३ स्थानीय तहमा पुग्यो ब्रोडव्यान्ड सेवा |
काठमाडौं । देशभरका स्थानीय तहमा इन्टरनेट सेवा उपलब्ध गराउने गरी अघि बढेको ब्रोडव्यान्ड परियोजनाले गति लिँदै गएको छ । मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्याउने परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले ६६३ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट जडान विस्तार गरेको हो ।
प्राधिकरणका अनुसार गत असार मसान्तसम्म ६६३ स्थानीय निकायको कार्यालयमा इन्टरनेट जडान सम्पन्न भएको छ । जसमा स्थानीय तहका स्वास्थ्य चौकी, वडा तथा गाउँपालिका कार्यालय, शैक्षिक संस्थामा उच्च गतिको इनटरनेट पुर्याउन दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरेको थियो ।
तथ्याङ्क अनुसार हालसम्म ५ हजार २६४ वडा कार्यालय,४ हजार ६४० माध्यामिक विद्यालय र ३ हजार ६५१ स्वास्थ्य संस्थामा इन्टनरेट जडान भएको छ ।
प्राधिकरणले देशका ७०२ स्थानीय तहमा इन्टरनेट सेवा पुर्याउन १८ प्याकेजमा विभिन्न इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरेको थियो । जस अनुसार अब ३९ वटा स्थानीय तहमा मात्रै इन्टरनेट पुर्याउन बाँकी रहेको छ ।
झन्डै ६ अर्ब खर्च भएको यो परियोजनामा १८ वटा प्याकेजमध्ये १५ वटा प्याकेजहरु मार्फत् ६० जिल्लाहरु १०० प्रतिशत काम सकिएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै २ वटा प्याकेज मार्फत् १० जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा ५० प्रतिशतभन्दा बढी काम सकिएर सेवा सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।
गत महिना मात्र पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ले भुकम्प प्रभावित ११ जिल्लामा ब्रोडव्यान्ड इनटरनेट विस्तार भएपनि सेवा कमजोर भएको भन्दै दूरसञ्चार कोषको रकम प्रयोग गर्दै १० एमबिपिएस इन्टरनेट दिने योजना पनि अघि बढाएका थिए।
त्यसैगरी ब्रोड व्यान्ड इनटरनेटसँगै मोबाइल इन्टरनेटले पनि रेकर्ड तोड्दै गएको छ । हाल ६२ प्रतिशत जनसङ्ख्या मोबाइल इन्टरनेट र २५ प्रतिशत जनसङ्ख्या फाइबर फिक्सड् इन्टरनेट प्रयोग गर्दै आएका छन ।
यो सँगै नेपालमा ९१ प्रतिशत जनसङ्ख्या ब्रोडव्यान्ड इन्टरनेटको पहुँचमा छन ।