समिट लघुवित्तले २०१.६२% ले नाफा बढायो |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा समिट लघुवित्तले ११ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
नाफा अघिल्लो वर्षको भन्दा २०१.६२% ले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । यस लघुवित्तको खुद ब्याज आम्दानी ७२.७०% र सञ्चालन नाफा २०४.४४% ले बढेपछि नाफा ह्वात्तै बढेको हो ।
असारसम्म १ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेको समिटले ४ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी ३९ करोड ४३ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २१ करोड ७८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४७ पैसाले बढाएर ३० रुपैयाँ ३८ पैसा पुर्याएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १५५ रुपैयाँ २५ पैसा छ ।