डिप्रोक्सको खुद नाफा १५९.५५ प्रतिशतले बढ्यो |
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ ।
सो अवधिसम्ममा लघुवित्तले ७१ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५९.५५ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेपनि ३८ करोड ९८ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएपछि लघुवित्तको नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४२.७९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६६.३२ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा १५ प्रतिशत, जगेडा कोष ५५.३९ प्रतिशत, सापटी १९.६३ प्रतिशत, निक्षेप ३२.५५ प्रतिशत र कर्जा ३१.९० प्रतिशत बढेको छ।
नाफा बढेसँगै लघुवित्तको ईपीएसमा पनि उल्लेख्य सुधार देखिएको छ। समीक्षा अवधिमा लघुवित्तको ईपीएस ३४ रुपैयाँ ३८ पैसा बढेर ६१ रुपैयाँ ७३ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २७.३१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ ९६ पैसा रहेको छ।