अब लगानीकर्ताले मेरो शेयरको पासवर्ड आफै रिसेट गर्न पाउने |
काठमाडौं । लगानीकर्ताले मेरो शेयरको पासवर्ड आफै रिसेट गर्न पाउने भएका छन्। केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि) ले मेरो शेयरमा उक्त सुबिधा थप गर्दै पासवर्ड रिसेटको सुबिधा दिने भएको हो ।
“अब लगानीकर्ताले मेरो शेयरको पासवर्ड आफै रिसेट गर्न पाउनु हुने छ । यही साता बाट हामी मेरो शेयरमा उक्त सुबिधा थप गर्दै छौ” सिडिएससिका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले भने।
यस अघि लगानीकर्ताले मेरो शेयरको पासवर्ड परिवर्तन गर्नु परे सम्बन्धित निक्षेप सदस्यसँग अनुरोध गर्दै निवेदन दिनु पर्थ्यो । जिल्लमा हुनेहरूका लागि पासवर्ड रिसेट गर्न असम्भव प्रायः थियो। पासवर्ड परिवर्तन गर्दा सम्बन्धित व्यक्तिकै उपस्थिति चाहिन्थ्यो । पासवर्ड परिवर्तन गर्न कठिनाइ भएकै कारण धेरै लगानीकर्ता प्राथमिक शेयरमा आवेदन दिन समेत वञ्चित हुने गरेका थिए ।
मेरो शेयरमा पासवर्डको समस्या शुरु देखिनै रहँदै आएको थियो । पासवर्डका समस्याका कारण कतिपय मर्चेन्ट बैकले उक्त सुबिधाका लागि भनेर छुट्टै कर्मचारी नै खटाउँदै आएका थिए। कामै अड्किने गरेको कारण निक्षेप सदस्यलाई छुट्टै कर्मचारी खटाउनु पर्ने बाध्यता हुने गरेको थियो ।
पासवर्डको समस्या अत्यधिक धेरै आउने भएपछि कतिपय निक्षेप सदस्यले त्यसलाई कमाइको आधार समेत बनाएका थिए । अत्यधिक रिसेटको गुनासो आएको कारण उनीहरूले प्रति पासवर्ड रिसेट गरिदिए बापत २५ रुपैयाँसम्म लगानीकर्ताबाट असुल्दै आएका थिए । कामै अड्किएपछि सित्तैमा हुने कामकालनगि समेत २५ रुपैयाँ तिर्न सर्वसाधारण बाध्य थिए ।
रिसेटको गुनासो र सित्तैमा हुने कुरालाई समेत लगानीकर्ताबाट रकम असुली भइरहेको पाएपछि सिडिएससिले उक्त सुबिधा सिधै लगानीकर्तालाई दिने तयारी गरेको हो। लगानीकर्तालाई नै पासवर्ड रिसेट सुबिधा दिएपछि निक्षेप सदस्यहरूले छुट्टै कर्मचारी खटाउनु पर्ने छैन भने उता लगानीकर्ताले संसारको जुन सुकै कुनाबाट पासवर्ड रिसेट गर्न सक्ने छन्। जसको लागि सिडिएससिले मेरो शेयरमा पासवर्ड रिसेट भन्ने फिचर थप गर्ने छ । सोही फिचर प्रयोग गर्दै लगानीकर्ताले जति पटक पनि आफूले चाहे अनुसारको पासवर्ड राखेर रिसेट गर्न सक्ने छन् ।