शहरी पूर्वाधार विकाशका लागि पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक बीच समझदारी |

काठमाडौं । शहरी पूर्वाधार विकासका लागि पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक बीच सुविधा सम्पन्न शहरी पूर्वाधार विकास तथा निर्माण सम्बन्धी समझदारी भएको छ ।
पाँचखाल नगरपालिकामा रहेको सामाजिक आवश्यकताहरू पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा संचालनबाट नगरबासीहरुको लागि दैनिक जनजीवनमा सहजीकरण गर्न नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत रहेको पाँचखाल नगरपालिकामा सुविधा सम्पन्न शहरी पूर्वाधार विकास तथा निर्माण गर्न उक्त सम्झौता भएको हो ।
बैंकले उक्त परियोजना निर्माण गर्न आवश्यक हुने प्राविधिक र आर्थिक सम्भाव्यता अध्यन, वित्तीय तथा प्राविधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण, परामर्शदाता तथा विकास कर्ता छनौटका लागि आवश्यक सहयोग, लगानीको संरचना तय गर्ने लगायतका आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गर्ने छ ।
पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यका साथ सार्वजनिक नीजि साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पाँचखाल नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर गरेकाे जनाएको छ ।