विश्व हिन्दू परिषदद्वारा पूर्वप्रधानमन्त्री भट्टराईको पुत्ला दहन |

काठमाडौं । विश्व हिन्दू परिषद नेपालले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध आज देशव्यापी प्रदर्शन गरेको छ । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषदले राजविराज, विरगंज जस्ता देशका मुख्य शहरहरूमा प्रदर्शन गरेको हो ।
विश्व हिन्दू परिषद नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरुले डा.भट्टराई विरूद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए ।
बहुसंख्यक सनातन धर्माबलम्बिहरुको आस्थामाथि खेलवाड गर्दै अभद्र टिप्पणी गरेको भन्दै परिषद्ले विरोध गरेको जनाएको छ । परिषद्ले विदेशी विधर्मी शक्तिहरूद्वारा सञ्चालित व्यक्ति तथा संगठनहरुले पटक–पटक सनातन धर्माबलम्बीहरुको आस्थासँग खेलवाड गर्दै आएको भन्दै कानुनी कारवाही हुन नसक्दा उनीहरुको मनोवल झनै बढेको भनेको छ। हिन्दू विरूद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशिघ्र कानुनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद नेपालले माग समेत गरेको छ ।
डा. भट्टराईले बुधबार ट्वीट गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको दूध चढाएको तस्बिर राखेर मूत्र पिउने दूध फाल्ने भन्दै आफ्नो सहपाठीले लेखेको उल्लेख गरेका थिए । त्यसको भाजपा प्रवक्ता डा. विजय चौथाइवालेले समेत विरोध गरेर आलोचनात्मक टिप्पणी गरेका थिए ।