उद्योग परिसंघको अध्यक्षमा चुनिए बिष्णु अग्रवाल |

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । परिसंघको १८औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको अध्यक्ष चयन भएका हुन् । अग्रवाल यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए ।
उनले यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका छन् । साथै उनीसँग परिसंघको पूर्वाधार विकास समितिको सभापति भएर पनि काम गरिसकेको अनुभव पनि छ । पूर्वफुटबल खेलाडीसमेत रहेका अग्रवाल नेपाल सुपर लिग विजेता काठमाडौं रेजर्स फुटबल क्लबका प्रोमोटर पनि हुन् ।
नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन् ।
परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ । त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुनु हुनेछ ।
राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुलकुमार अग्रवाल, सन्दीपकुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दिपक अग्रवाल, सुरजभक्त पौडेल, निर्वाण कुमार चौधरी, बिक्रम सिंघानिया, दिलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन् ।
यसैगरी प्रतिष्ठानतर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरुप्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् ।
संस्थागत सदस्य समूह तर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
युनियन अफ एसियन चेम्बर्सको शुभारम्भ
परिसंघको साधारणसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले युनियन अफ एसिएन चेम्बर्सको शुभारम्भ गरे । एसियाली देशका चेम्बरको साझा मञ्च निर्माण गर्ने उद्देश्यले युनियन अफ एसिएन चेम्बर्सको शुभारम्भ गरिएको हो ।
युनियन अफ एसिएन चेम्बर्सको नेतृत्व अहिले परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले लिएका छन् । कार्यक्रममा चौधरीले एसियाली देशहरुमा व्यापार सहजीकरण गर्ने, क्षेत्रीय आर्थिक विकासमा योगदान गर्ने र एसियालाई २१ औं शताब्दीको आर्थिक केन्द्र बनाउने गरी अघि बढ्ने उद्देश्य राखिएको बताए ।