कामना सेवाले पनि ऋणपत्र निष्काशन गर्ने |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पनि ऋणपत्र निष्कासन गर्ने भएको छ ।
दीर्घकालीन लगानीका लागि स्रोत जुटाउनका लागि बैंकले १ अर्ब रूपैयाँको ऋणपत्र उपकरण जारी गर्ने भएको हो ।
बैंकले १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । बैंकले ऋणपत्र निष्कासन गर्न साउन ३ गते निवेदन पेश गरेको धितोपत्र बोर्डले जनाएको छ ।
बैंकले ‘१० वर्ष, ९५ केएसबीबीएल डिबेञ्चर, २०८८’ नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले लगानीकर्तालाई वार्षिक ९ प्रतिशत व्याज दिनेगरी १० वर्ष अवधिका लागि एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले निष्काशन गर्न अनुमति मागेको १० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणका लागि ४ लाख कित्ता र ६ लाख कित्ता बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।
निक्षेपकर्ताको बचत छोटो समयमा समयमा राख्ने निकाल्ने भइरहँदा बैंक तथा वित्तीय संस्थाहरुले त्यसको व्यवस्थापनमा ध्यान दिइराख्नुपर्छ । तर ऋणपत्र बिक्रीबाट प्राप्त हुने रकम तोकिएको समयसम्म दीर्घकालीन अवधिको लागि ऋण लगानी गर्न सकिने भएकाले ऋणपत्र बिक्रीमा बैंक तथा वित्तीय संस्थाहरु लागेका छन् । यसरी बिक्री गरिने ऋणपत्रबाट प्राप्त हुने रकम शतप्रतिशत कर्जा प्रवाह गर्न पाइने राष्ट्र बैंकको व्यवस्थाले पनि बैंकहरु ऋणपत्र जारी गर्न अग्रसर भइरहेका छन् ।
बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।