मैलुङ खोलाको आईपीओ साउन १४ गतेदेखि खुल्ने |
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले यही साउन १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।
निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सो शेयरमा सर्वसाधारणले साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने जनाउँदछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।