एचआईडिसीएलको हकप्रदमा आजदेखि आवेदन खुला |
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आज (साउन ५ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ एक कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो ।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशन गरेको हो ।
हकप्रद निष्काशनका लागि कम्पनीले जेठ २८ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत साउन २५ गतेसम्म आवेदन दिन पाउनेछन् ।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको संकेत गर्दछ ।
हाल ११ अर्ब रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशन तथा बाँडफाँटपछि २२ अर्ब रुपैयाँ पुग्नेछ ।