करिब १०० अंक बढ्यो नेप्से, कारोबार रकम पनि साढे ११ अर्ब माथि |
काठमाडौं । सेयर बजारले आकर्षक वृद्धिसहित नयाँ आर्थिक वर्षलाई स्वागत गरेको छ । आइतबार नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा नेप्से सूचक ९७.२१ अंकले वृद्धि भएको छ । सूचकको वृद्धिलाई सेयर कारोबार रकमले पनि राम्रो साथ दिएको छ । यसले लगानीकर्तामा सेयर बजारले नयाँ उचाई तय गर्ने आशा जगाएको छ । आजैबाट अल्पकालीन र र्दीघकालीन लगानीकर्तालाई फरकफरक पुँजीगत लाभकरको व्यवस्था लागू भएकाले बजार थप स्थिर हुने अनुमान गर्न सकिन्छ ।
आइतबार नेप्सेमा ११ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । विगत केही समयको तुलनामा यो कारोबार रकम निकै राम्रो हो । २ करोड ८८ लाख भन्दा बढी कित्ता सेयर किनबेच भएको छ । सूचीकृत सबै समूहहरु हरियो भएका छन् । जीवन बिमा समूह ६४८.४६ अंकले बढेको छ । यस्तै, बैंकिङ समूह पनि ९२.५८ अंकले बढेको छ । ५ वटा कम्पनीको भाउ १०% ले वृद्धि भएको छ । कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स पहिलो र नबिल बैंक दोस्रो स्थानमा छ ।
यता, नयाँ आर्थिक वर्ष सुरु भएसँगै सूचीकृत कम्पनीको वित्तीय विवरण सार्वजनिक हुन थालेको छ । कम्पनीहरुले वर्षभरीको कमाई सार्वजनिक गर्न सुरु गरेका छन् । आइतबार मात्र कामना सेवा विकास बैंकले आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस्तै, अन्य सूचीकृत कम्पनीको विवरण पनि राम्रो आउने लगानीकर्ताले आशा गरेका छन् । सूचीकृत कम्पनीहरुको कमाई राम्रो हुँदा लगानीकर्ताले पनि आकर्षक लाभांश पाउन सक्छन् ।
यता, अब केही समयदेखि नै सूचीकृत कम्पनीहरुले लाभांश पनि घोषणा गर्न सुरु गर्नेछन् । जसका कारण सेयर बजारमा थप चहलपहल बढ्ने देखिन्छ । अहिले सेयर खरिद गर्नेले छोटो समयमै लाभांश हात पार्नसक्ने भएकाले बजार थप सुधार हुनसक्ने अनुमान गर्न सकिन्छ । यद्दपि, लगानीकर्ताले कस्ता कम्पनीमा लगानी गर्ने भन्ने विषयमा भने सजग बन्न आवश्यक छ ।
लाभांशको सिजन सुरु हुन लागेकाले वित्तीय अवस्था सवल भएका र आकर्षक लाभांश दिनसक्ने कम्पनी विश्लेषण गरी लगानी गर्दा बढी फाइदाकारी हुन्छ । यस्तै, वित्तीय विवरण सार्वजनिक हुने क्रम सुरु भएको छ । कम्पनीहरुले वर्षभरी केकस्तो प्रगति गरे भन्ने जानकारी लिन वित्तीय विवरणलाई राम्रो अध्ययन गरी लगानी गर्नु उचित हुन्छ ।