अटोमोबाइल क्षेत्रको समस्यामा सहजीकरण गरिदिन नाडाको आग्रह |
काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको प्रतिनिधि मण्डलले अटोमोबाइल क्षेत्रको समस्या सहजिकरणमा भूमिका खेलिदिन आग्रह गरेको छ ।
बिहीबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ५ सदस्यीय नाडा प्रतिनिधि मण्डलले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै यस्तो आग्रह गरेको हो ।
सो अवसरमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दे आएको बताउँदै सवारी साधनहरुको आयात लगायत स्पेयर पार्टस, टायर लुब्रिकेन्ट लगायतका माल सामान आयातमा भन्सारमा देखिएको समस्याका सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे मन्त्रीलाई अवगत गराएका छन् । यस्तो समस्या निराकरणका लागि अर्थमन्त्रीको नाताले शर्माले भूमिका खेलिदिनु पर्ने उनको माग रहेको छ ।
यस्तै सोही अवसरमा अध्यक्ष दुललाले कोभिड–१९ को उच्च संक्रमण र जोखिमलाई ध्यानमा राख्दै अटोमोबाइल क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदूरहरुका लागि पनि छिटो कोभिड विरुद्धको खोपको व्यवस्था गरि दिन मन्त्रीसँग आग्रह गरे ।