नेप्से सूचक १.०१ अंकले बढ्यो, नयाँ सरकार आएसँगै लगानीकर्ता अन्योलमा |
काठमाडौं । बुधबार शेयर बजार मापक नेप्से सूचत सामान्य अंकले बढेर बन्द भएको छ । राजनीतिक नेतृत्व परिवर्तन हुँदा बुधबारको बजारमा लगानीकर्ता ’पर्ख र हेर’ को अवस्थामा देखिएका छन् ।
मंगलबार शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ भने माओवादी केन्द्रका नेता जनार्दन शर्माले अर्थमन्त्रीको जिम्मेवारी पाएमा छन् । पुराना अर्थमन्त्री बाहिरीएसँगे अर्थमन्त्रालयले पनि नयाँ नेतृत्व पाएको छ । नयाँ अर्थमन्त्री आएसँगै लगानीकर्ता पनि अन्योलमा देखिएका छन् । यसै कारण बुधबारको बजारमा खासै ठुलो परिवर्तन देखिदैन ।
यस दिन नेप्से सूचक १.०१ अंकले बढेर २८७२.०५ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.१४ विन्दुले घटेको छ ।
यस दिन कारोबार रकममा सामान्य वृद्धि देखिन्छ। बुधबार २१४ वटा कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ रुपैयाँमा खरिद बिक्री भएको छ ।
यस दिन हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको छ । हाइड्रोपावर कम्पनीहरुको शेयरमा खरिद चाप बढ्दा उक्त उपसमूहको सूचक २.७१ प्रतिशतले बढेको छ ।
यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएको छ ।
बुधबार हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै ८.१० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको ७.७१ प्रतिशत, कालिका पावरको ७.११ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ५.९४ प्रतिशत र साञ्जेन जलविद्युतको ५.७३ प्रतिशतले बढेको छ ।
यस दिन अधिकाँश म्युचुअल फण्डको इकाइमूल्य उच्च रुपले घटेको छ । नबिल ब्यालेन्ड फण्ड २ को इकाइमूल्य सबैभन्दा धेरै २.८३ प्रतिशतले घटेको छ भने एनएमबि ५० को २.७७ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को २.६१ प्रतिशत र सूर्योदय लघुवित्तको २.०१ प्रतिशतले घटेको छ ।
यस दिन गोर्खाज फाइनान्सको सबैभन्दा धेरै २९ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने छिमेक लघुवित्तको २२ करोड ३३ लाख, हिमालयन डिस्टिलरीको १९ करोड ७२ लाख, निर्धन उत्थान लघुवित्तको १६ करोड १६ लाख र नविल ब्यालेन्स फण्ड २ को १५ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।