युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा साढे २१ लाख बढीले गरे आवेदन, आवेदनमा नयाँ रेकर्ड |
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको नयाँ रेकर्ड कायम भएको छ। कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा झण्डै साढे २१ लाख आवेदकले आवेदन गरेका छन्। यो आइपीओमा परेको हालसम्मकै उच्च आवेदन हो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा २१ लाख ५० हजार ४७८ जना आवेदकबाट ३ करोड ४० लाख १० हजार ८९० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् ।
यसमा अझै बैंकमार्फत आइपीओ भर्नेहरुको आवेदन थप हुने भएकोले आवेदनको संख्या अझै बढ्न सक्छ ।
कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको थियो।