नेप्से परिसूचक १९.१२ अंक बढ्यो, ६ अर्ब ७० करोड रुपैयाँको कारोबार |
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेसँगै नेप्से पनि बढ्न पुगेको हो ।
यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.९४ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंकको ३.६३ प्रतिशत, वित्तको २.९४ प्रतिशत, अन्यको १.७३ प्रतिशत र लगानीको १.१५ प्रतिशत बढेको छ । बाँकी ७ उपसमूहको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन ०.०४ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन नेको इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको यस दिन ३० करोड ४४ लाखभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण कारोबार बढेको हो। अन्य कम्पनीहरुको भने यस दिन २० करोडभन्दा कमको कारोबार भएको छ ।
बिहीबार ओरियन्टल होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ९.९७ प्रतिशत अर्थात ६१ रुपैयाँ बढेर ६७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, यस दिन ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र गुडविल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।
यस दिन नेप्से परिसूचक १९.१२ अंक बढेर २८४३ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ६.३३ अंक बढेर ५२८.७१ विन्दुमा पुगेको छ। त्यसैगरी, फ्लोट इण्डेक्स १.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंक बढेको छ।
यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ। यस दिन २२४ कम्पनीको ७० हजार १९८ पटकको कारोबारमा ६ अर्ब ७० करोड ७७ लाख रुपैयाँ बराबरको ३ करोड २८ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार बजारमा ६ अर्बभन्दा कमको शेयर खरिदबिक्री भएको थियो।