सिद्धार्थ क्यापिटलको खुलामुखी योजना बिक्री खुला, १० बर्षमा दोब्बर प्रतिफल दिने |
काठमाडौं । सिद्धार्थ क्यापिटलले आज (असार १६ गते, बुधबार) देखि खुलामुखी म्युचुल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले सिदार्थ व्यवस्थित लगानी योजना अर्थात सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम नामक योजना निष्काशन तथा बिक्री गर्न लागेको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्री गर्ने भएको हो । कम्पनीले २ करोड इकाई सर्वप्रथम सार्वजनिक रुपमा जारी गरी बाँडफाँट भइसकेपछि खुद सम्पत्ती मूल्यका आधारमा तोकिएको प्रति इकाई मूल्यमा योजना व्यवस्थापन वा योजना व्यवस्थापकले तोकिएको इकाई बिक्रेता मार्फत दैनिक खुद सम्पत्ती मूल्य गणना गरी सो मूल्यलाई इकाई पुनर्खरिद तथा बिक्री मूल्यका रुपमा लिई इकाईको निरन्तर बिक्री तथा पुनर्खरिद गरिनेछ ।
योजनाको शुरुको आकारको ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड र १० प्रतिशत इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंक लिमिटेडले बिज पूँजीको रुपमा लगानी गर्नेछ । फण्डको इकाईमा छिटोमा असार २० गते र उक्त समयमा सबै इकाई बिक्री नभएमा अषाढ ३० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । उक्त स्किमको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।
१० वर्षमा कम्तिमा ७० देखि ८० प्रतिशत प्रतिफल दिने सिद्धार्थ क्यापिटलका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सन्दीप कार्कीले बताए । उनले भने, “हामीले भविष्यमा फण्डलाई कसरी विकास गर्न सक्छौं, यसको उच्च प्रतिफल कसरी हासिल हुन्छ भन्ने कुरा अहिले नै अनुमान गर्न कठीन हुन्छ, तर सामान्य रुपमा हामी १० वर्षमा दोब्बर पैसा दिनसक्छौं भन्ने योजनामा छौं, हाम्रो परम्परागत भएर गरिएको अनुमानले पनि १० वर्षमा ७० देखि ८० प्रतिशत प्रतिफल कम्तिमा दिनसक्छौं भन्ने अनुमान गरिएको छ ।”