एनआईसी एशियाको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, कति छ ब्याजदर ? |

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा आज (असार ६ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ।
बैंकले ‘८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ निष्काशन तथा बिक्री खुला गरेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ।
सो ऋणपत्र खरिदका लागि छिटोमा असार ९ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार २० गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी सिङ्गल ए (इस्यूअर) रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।